अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिस्ट राष्ट्र क्युबाको सत्ता परिवर्तन गरेर पूर्व राष्ट्रपति राउल क्यास्ट्रोका नातिलाई शासक बनाउने सम्भावना बढेको छ।
क्युबाका राष्ट्रपति मिगुएल डियाज-कनेलले हटाएर सेनाका ४१ वर्षीय कर्नेल राउल गुयर्मौ रोड्रिगेज क्यास्ट्रोलाई ट्रम्पले सत्ता सुम्पन सक्ने भनेर अमेरिकी मिडियामा समाचार आउन थालेका छन्।
उनी पूर्वराष्ट्रपति राउल क्यास्ट्रोका नाति हुन्। राउल क्यास्ट्रो सन् १९५९ मा क्रान्ति गरेर कम्युनिस्ट शासन सुरू गर्ने फिडेल क्यास्ट्रोका भाइ हुन्।
फिडेलले २००६ मा उमेरका कारण भाइ राउललाई सत्ता सुम्पेका थिए। हाल ९४ वर्ष पुगेका राउलले पनि उमेरकै कारण डियाज-कनेललाई २०१८ मा सत्ता सुम्पेका थिए। सन् १९५९ पछि क्युबामा शासन गर्ने एक मात्र गैर-क्यास्ट्रोलाई हटाएर ट्रम्पले फेरि एक क्यास्ट्रोलाई नै सत्ता सुम्पन लागेको चर्चा अहिले चल्न थालेको छ।
ट्रम्प सरकारमा पछिल्लो समय शक्तिशाली बन्दै गएका विदेश मन्त्री मार्को रूबिओले केही हप्ताअघि रोड्रिगेज क्यास्ट्रोलाई भेटेर क्युबाको भविष्यबारे कुरा गरेको अमेरिकी अनलाइन एक्सियसले लेखेको थियो।
सन् १९५९ मा फिडेल क्यास्ट्रोले क्रान्ति गरेदेखि नै अमेरिकाले त्यहाँ सत्ता परिवर्तन गर्न खोजिरहेको छ। क्युबाली आप्रवासीका छोरा रूबिओको पनि त्यहाँ कम्युनिष्ट शासन अन्त्य गर्ने उत्कट चाहना छ।
ट्रम्पले गत डिसेम्बर महिनाको अन्त्यमा सेना पठाएर भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी अमेरिका लगेका थिए। त्यसपछि उनले क्युबामा पनि सत्ता पल्टाउन खोज्ने आँकलन गरिएको थियो। क्युबालाई दबाब हाल्न अमेरिकाले जनवरीमा भेनेजुएलाबाट क्युबा जाने तेलको ढुवानी रोकेको थियो।
फेब्रुअरी अन्त्यमा उनले इरानसँग युद्ध सुरू गरेपछि उनको ध्यान अन्तै गएको भनेर क्युबालाई राहत भएको थियो। तर इरानसँग युद्ध चलिरहेकै बेलामा उनले क्युबामा जे चाह्यो त्यही गर्न सक्ने टिप्पणी गरेका छन्।
ह्वाइट हाउसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै आफूले कुनै न कुनै रूपमा क्युबा लिने अवसर पाउने ट्रम्पले जनाएका छन्।
'मैले यसलाई स्वतन्त्र गराऊँ वा कब्जा गरूँ, यदि तपाईं सत्य जान्न चाहनुहुन्छ भने मलाई लाग्छ कि म योसँग जे चाहन्छु त्यही गर्न सक्छु,' क्युबा अहिले धेरै कमजोर राष्ट्र भएको जिकिर गर्दै उनले भने।
क्युबाका राष्ट्रपति मिगुएल डियाज-कनेलले केही दिनअघि सो टापुमाथि अमेरिकाले लगाएको ऊर्जा नाकाबन्दीको वार्ताद्वारा समाधान खोजिरहेको खुलासा गरेका थिए। तर उनले छलफलको विषयवस्तुबारे भने थप विवरण दिएका थिएनन्।
यस्तो समयमा ट्रम्पले क्युबासँग जे चाह्यो त्यही गर्न सक्ने बताएका हुन्। ट्रम्पले यसअघि पनि सो राष्ट्रको मैत्रीपूर्ण कब्जा हुन सक्ने टिप्पणी गरेका थिए।
अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले सोमबार ट्रम्प सरकारले डियाज-कनेललाई हटाउन खोजिरहेको समाचार लेखेको थियो।
भेनेजुएलामा मदुरोलाई हटाएर उनकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई सत्तामा पुर्याए जस्तै क्युबामा पनि रोड्रिगेज क्यास्ट्रोलाई सत्ता हस्तान्त्रण गर्न लागेको अमेरिकी मिडियाले अनुमान गरेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)