राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांसद अभिमुखीकरण आज समापन हुँदै छ।
मंगलबारदेखि सुरू भएको अभिमुखीकरणमा रास्वपाले नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास सिकाइरहेको हो।
आजको सत्रको सुरूआत योगाभ्यासबाट हुनेछ। एलपी भानु शर्माले योगध्यान सिकाएपछि सुरू हुने सत्रमा आज डा तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रियाबारे सुसूचित गर्नेछन्। उनले विशेषतः योजना तथा बजेट निर्माणबारे जानकारी गराउनेछन्। ज्ञवाली राष्ट्रिय योजना आयोगका पूर्वसचिव समेत हुन्।
यस्तै आजको सत्रमा पूर्वसचिव प्रतापकुमार पाठकले सुशासनसम्बन्धी अवधारणा र अभ्यासबारे जानकारी दिनेछन्।
सांसदहरूको यसमा भूमिका के हुने भन्नेबारे उनले बताउने कार्यसूची रहेको रास्वपाले जानकारी दिएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी र सांसदको सम्बन्धबारे जानकारी दिनेछन्। नयाँ राजनीतिक संस्ककारमा सांसदको भूमिका, आचारसंहिता तथा न्यूनतम प्रतिबद्धतामा केन्द्रित रहेर उनले प्रस्तुति दिनेछन्।
आजकै सत्रमा सांसदहरूले एजेण्डा प्राथमिकताबारे समूहमा कार्य गर्नेछन्। समापन सत्रमा जेनजी सांसद प्रशान्त उप्रेती र खिमा विकले धन्यवाद दिने कार्यसूची राखिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए।
बुर्लाकोटीका अनुसार आजको सत्रमा पार्टी सभापति रवि लामिछाने सहभागी हुनेछन्। अभिमुखीकरणको सभापन सभापति लामिछानेले गर्ने कार्यसूची रहेको छ।