काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार रञ्जु दर्शना विजयी घोषणा भएकी छन्।
मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले रास्वपा उम्मेदवार दर्शनालाई विजयी घोषणा गरेका हुन्।
रञ्जुले १५ हजार ४५५ मत प्राप्त गरेकी छन्। यहाँ कुल २९ हजार ७७४ मत खसेको थियो। प्रतिस्पर्धामा २९ जना उम्मेदवार छन्।
दोस्रो पटक प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी न्यौपानेले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका प्रबल थापालाई मतान्तरले पछि पारेकी हुन्। थापाले ६ हजार ३६४ मत ल्याए।
यसअघिका निर्वाचनमा कडा टक्कर दिँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याए। चौथो स्थानमा रहेका नेकपा एमालेका मोहन रेग्मीले १ हजार ६१८ मत ल्याए।
न्यौपाने २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी थिइन्। विवेकशील अभियानमार्फत् राजनीतिमा पाइला राखेकी न्यौपानेले २०७४ सालको स्थानीय तह निर्वाचनमा २३ हजार बढी मत ल्याएकी थिइन्।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी उनले अपेक्षित मत प्राप्त गर्न सकिनन्। सेलरोटीको चाङ चुनाव चिह्न लिएर उक्त निर्वाचनमा उम्मेदवार बनेकी न्यौपानेले ६०० हाराहारी मात्रै मत ल्याएकी थिइन्। त्यसपछि राजनीतिमा पछि परेकी न्यौपाने रास्वपा प्रवेशसँगै पुनरागमन भएकी हुन्।
यसअघि उनी विवकेशील साझा पार्टीकी महासचिव थिइन्। विवेकशील साझा पार्टी रास्वपामा समाहित भएपछि हाल उनी उक्त पार्टीको केन्द्रीय समितिमा छिन्।
रास्वपा प्रविष्ट भएपछि उनी सुरूआतमा समानुपातिकतर्फको बन्दसूचीमा थिइन्। उनको नाम सूचीमा तल परेपछि असन्तुष्ट रहँदै आएकी थिइन्। न्यौपाने असन्तुष्ट रहेपछि पार्टीले उनको नाम बन्दसूचीबाट फिर्ता लिएर काठमाडौं–१ मा प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो।
त्यसो त उनी नवप्रसूता पनि हुन्। त्यसैले उनले घरदैलो पनि गर्न भ्याएकी थिइनन्। दस दिनको शिशु बोकेर मतदान गर्न गएको उनको तस्बिरबारे सामाजिक सञ्जालमा चर्चा पनि भएको थियो।
नेसनल कलेजमा डेभलपमेन्ट स्टडिज स्नातकमा पढ्दै गर्दा नै रञ्जु जुलुसमा हिँड्न थालेकी थिइन्। उनी १२ कक्षा पढ्दै गर्दा डा. गोविन्द केसीकै समर्थनमा पहिलोपटक सडकमा ओर्लिएकी थिइन्। त्यो दिन भ्यालेन्टाइन डे थियो। विदा माग्दा उनी पढ्ने हेराल्ड इन्टरनेसनलका शिक्षकले जुलुसमा जान लागेको भनेर पत्याउनै मानेका थिएनन्।
बाबाले गर्भवती आमालाई छाडेर गएपछि उनी मावल हजुरआमाकै संरक्षकत्वमा हुर्किएकी थिइन्। प्रसूति अवस्थामै उम्मेदवार बन्दै निर्वाचित भएर उनले आफ्नो राजनीतिको नयाँ यात्रा कोरेकी छन्।
मामाघरको ओत पाएर हुर्केकी दर्शनाले एसएलसीपछि नै नोकरी गर्न थालेकी थिइन्। एपटेक कम्प्युटर इन्स्टिच्युटमा टेलिमार्केटर थिइन्। त्यहीबेला बेथिति औंल्याउँदा औंल्याउँदै उनी विवेकशील नेपाली दलमा आबद्ध भएकी थिइन्। कुकुर तिहारको दिन कुकुरलाई माला लगाइदिएर विवेकशील नेपालीले त्यतिबेला चुनाव घोषणापत्र सार्वजनिक गरेका थिए। त्यो समाचार तस्बिरसहित द हिमालयन टाइम्समा छापिएको थियो। रञ्जुलाई यो निकै अनौठो लाग्यो। उनले इन्टरनेटमा गएर यसबारे थप खोजी गरिन्। यो समूहको सबै कुरा रमाइलो लाग्दै गएपछि उनी पनि त्यसैमा मिसिन पुगेकी हुन्।
१२ कक्षामा पढ्दापढ्दै उनी २०७० सालको दोस्रो संविधान सभाको चुनावी अभियानमा होमिएकी थिइन्।