फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ।
अहिलेसम्म ६२ निर्वाचन क्षेत्रको मतगणना सुरू भएको छ।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले ४७ स्थानमा अग्रता लिइरहेको छ।
नेपाली कांग्रेस र नेकपा एमालेल ५–५ निर्वाचन क्षेत्रमा अग्रता लिएका छन्।
नेकपा एमालेका भानुभक्त ढकालले तेह्रथुम – १ बाट २ हजार ४८० मतसहित अग्रता लिइरहेका छन्।
नेपाली कांग्रेसका सन्तोष सुब्बाले २ हजार ३१७ मत सहित पछ्याइरहेका छन्। रास्वपाका सुरेन्द्र कार्की १ हजार ९ सय ७१ मतसहित तेस्रो स्थानमा छन्।
चितवन १ मा नेकपा एमालेका दावा दोर्जे लामा अगाडि छन्। उनले हालसम्म ३९८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका राजेन्द्रप्रसाद वुर्लाकोटी ३३२ र रास्वपाका हरि ढकाल २६१ मत ल्याएका छन्।
रूपन्देही ४ मा पनि नेकपा एमालेका प्रमोदकुमार यादवले अग्रता लिएका छन्। उनले ३ हजार ९११ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका आशुतोष मिश्रले ३ हजार १ सय ७२ मत सहित पछ्याइरहेका छन्।
बाँके २ मा पनि नेकपा एमालेका मोहम्मद इश्तियाक राईले अग्रता लिइरहेका छन्। उनले हालसम्म ४ हजार ९२७ मत पाएका छन्। नेपाली कांग्रेसका सुधान्सु कोइरालाले ३ हजार ९८४ मत प्राप्त गरेका छन्। *
सुर्खेत २ मा नेकपा एमालेका कुलमणी देवकोटाले सुरुआती अग्रता लिएका छन्। उनले ३ सय १६ मत प्राप्त गरेर अग्रता लिएका छन्। नेपाली कांग्रेसका नारायणकुमार कोइरालाले २ सय १८ मत ल्याएर पछ्याइरहेका छन्। रास्वपाका रमेशकुमार सापकोटाले १ सय २७ मत प्राप्त गरेका छन्।
अझै पनि धेरै स्थानमा मतगणना सुरू हुन बाँकी छ। उच्च हिमाली क्षेत्रमा बिहानबाट मतपेटिका संकलन कार्य भइरहेको छ।
*यसअघि मुस्ताङमा पनि नेकपा एमालेका उम्मेदवारले अग्रता लिइरहेको भन्ने विवरणका आधारमा समाचार प्रकाशित भएकोमा सच्याइएको छ। उक्त क्षेत्रमा नेपाली कांग्रेसका योगेश गौचनले अग्रता लिइरहेका छन्।