नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ को निर्वाचनले दुई प्रकारका अतिवादलाई पोषण गर्न सक्ने बताएका छन्।
शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले एउटा अतिवादले भदौ २३/२४ को घटनाको अवमूल्यन गर्दै त्यसलाई षड्यन्त्र भन्ने उनले बताए।
'त्यहाँ युवाहरूको सहभागिता देखिँदैन। त्यहाँ असन्तुष्टि व्यक्त भएको देख्दैन। त्यस्तै खतरनाक अर्को अतिवाद छ जो मौका छोपेर सिंहदरबार जलाउन पनि लगाउँछ। मौका पर्दै गर्दा आफै जेलबाट पनि भाग्छ। यो दुइटै अतिवाद हिजो पनि देख्यौं भोलि पनि आउन सक्छ,' उनले भने।
अब कुनै पनि खालको द्वन्द्व मुलुकले खेप्न नसक्ने सभापति थापाले बताए। मुलुकलाई जतनका साथ लैजानुपर्ने र देशलाई गति पनि दिनुपर्ने उनले बताए।
अहिले बनेको राजमार्गमा थरिथरिका चालकहरू देखिएको सभापति थापाले बताए।
'कोही के भन्दैछन्- म गाडीमा बसेपछि यति अद्भूत मान्छे हुँ। आफै गन्तव्यमा पुग्छ। कोही भन्छन्- म यति अद्भूत मान्छे हुँ मैले चलाएपछि गाडी उँड्छ। कहिलेकाहीँ गाडी पौडिन्छ,' उनले भने।
यस्तो माहोलमा कांग्रेसले भने सबैले मिलेर गाडीमा बस्ने भन्दै आएको बताए।
'गाडी चालकले पनि सबैको कुरा सुनेर चलाउने हो। तीव्र गतिमा चलाउने हो तर सँगसँगै सम्हालेर पनि लिएर जाने हो। ख्याल गरेर यो गाडीलाई नेपाली कांग्रेसले पाँच वर्षमा गन्तव्यमा पुर्याउने संकल्प गरेर आएको नयाँ कांग्रेस हो यो,' उनले भने।