सामान्यतया हामीकहाँ फ्राई मःमलाई 'कोथे' भन्नेहरू धेरै छन्। सन्नी बज्राचार्य पनि यसमै विश्वस्त थिए।
सन् २०१८ मा उनी चीन घुम्न गएका थिए। त्यहाँ सडकमा बेच्न राखिएका खानेकुराहरू मध्ये उनको ध्यान मःममै गयो, जसलाई चीनमा डम्प्लिङ भनिन्छ।
'त्यहाँ एउटा लामो प्यानमा राखेर, छोपेर कोथे मःम पकाइने रहेछ। नेपालको भन्दा फरक तरिका देखेर रूचि बढ्यो। खाँदा तल्लो भाग हल्का फ्राई र माथिको भाग स्टिम थियो। यो खास कोथे मःम हो भनेर थाहा पाएँ,' उनले भने।
डेढ महिना चीन बसेर सन्नी फर्किए। उनलाई पहिल्यैदेखि रेस्टुरेन्ट खोल्ने मन थियो। तर परिवारका सदस्यले जागिर गर्न सुझाउँथे। त्यसैले उनले गहना बनाउने कम्पनी र ट्राभल एजेन्सीमा छोटो समय काम गरे।
सन् २०१९ मा सन्नीले नक्सालको एक चाइनिज रेस्टुरेन्टमा म्यानेजरका रूपमा काम गरे। सो रेस्टुरेन्ट अहिले बन्द भइसकेको छ। तर उनले त्यहाँ चाइनिज खानाबारे धेरै सिक्न पाए।
त्यहाँ काम गरेको आठ महिनापछि कोरोना महामारी सुरू भयो। घरमा यत्तिकै बस्नुभन्दा सन्नीले विभिन्न परिकार बनाउने सोचे। उनले कोथे मःम सँगै अरू परिकार बनाएर परिवारका सदस्यलाई चखाए। आफन्त र साथीसंगीलाई पनि खुवाए।
'त्यसपछि बल्ल आफ्नै रेस्टुरेन्ट सुरू गर्ने निर्णय लिएँ,' ३० वर्षीय सन्नीले भने।
उनले सन् २०२१ जुलाईमा ललितपुरको पिम्बहाल पोखरी नजिकै सानो सटरमा 'कोथेज' नामको रेस्टुरेन्ट खोले। त्यो बेला दुई लाख रूपैयाँ लगानी भयो। उनीसँग एक जना साझेदार साथी पनि थिए।


सन्नीले मःम बनाउने भाँडा, मसला, सस लगायत सामान चीनबाटै मगाए। रेस्टुरेन्टको मेनुमा कोथे मःम, ससेज आलु, कोल्ड नुडल्स, चाइनिज सुप मःम र राउबिङ रोल राखे। ठाउँ सानो भएकाले टेक–अवे (प्याकिङ) सुविधा मात्र दिए।
'मलाई बजारमा प्रतिस्पर्धा गर्नभन्दा केही नयाँ ल्याउन मन थियो। चीनको स्वाद नेपाली शैलीमा दिने चाहना थियो,' उनले भने, 'तर चल्ला कि नचल्ला भन्ने डर थियो।'
उनका अनुसार कोथे मःम बनाउन सुरूमा भाँडामा थोरै पानी र कर्न स्टार्च राखिन्छ। अनि मःम राखेर बिर्को लगाइन्छ। थोरै पानीको बाफले मःम स्टिम हुन्छ र तलको भाग फ्राई पनि हुन्छ। पन्ध्रदेखि बीस मिनेटमा कोथे मःम तयार हुन्छ।
'मान्छेहरू स्टिम मःम पनि राख्नु भन्छन् तर त्यो त जता पनि पाइन्छ। बेग्लै खालको राख्ने भनेरै मैले कोथे मात्र राखेको हुँ,' उनले भने।
रेस्टुरेन्ट खोलेकै दिन सन्नीले सात हजार रूपैयाँको कारोबार गरेका थिए। केही दिनपछि चर्चित फुड भ्लगरले कोथेजबारे भिडिओ प्रसारण गर्यो।
'त्यसपछिको केही दिन त दैनिक एक लाख रूपैयाँको कारोबार भयो। काम भ्याइएन, परिवारका सदस्यले सघाउनुभयो। त्यो बेला बिहान ५ बजेदेखि राति दुई बजेसम्म पसलमा बसेको याद आउँछ,' उनले भने।
केही समयपछि उनले कर्मचारी राखे। ग्राहकको आउजाउ धेरै हुन थाल्यो। ६ महिनापछि उनले सोही घरमा माथिल्लो एक तला पनि लिएर बस्ने ठाउँ बनाए।
एक वर्षमै सन्नीले काठमाडौंको ओमबहालमा कोथेजको शाखा खोले। लगत्तै बौद्धमा तेस्रो शाखा खोल्न सफल भए। पछिल्ला दुई शाखा खोल्न एक करोड ८० लाख रूपैयाँ लगानी भएको उनले बताए। यसमा उनका व्यावसायिक साझेदाहरू छन्।
तीन वटा शाखा हरेकमा नौ–नौ जना कर्मचारी भएको उनले जानकारी दिए।
'काठमाडौंकै दुई ठाउँमा फ्रेन्चाइज पनि दिएका थियौं। तर कोथेजको स्वाद र ब्रान्डमा एकरूपता भएन। त्यसैले हटायौं,' उनले भने।


कोथेजको केन्द्रीय भान्सा ललितपुरको सानेपामा छ जहाँ दस जना महिला कर्मचारी छन्। तीन वटै कोथेजका शाखामा यहीँ तयार भएको मःम जान्छ। रेस्टुरेन्टमा लगेर पकाए मात्र पुग्छ।
'त्यसैले हाम्रो मःमको स्वाद एउटै हुन्छ,' उनले भने।
कम समयमै सफल भए पनि बजारमा नयाँ स्वाद स्थापना गराउनु सन्नीका निम्ति चुनौती थियो। अझै छ।
कोथेजको मःममा पिरो नहुने खुर्सानीको अचार मात्र पाइन्छ। मान्छेहरू अरू अचार पनि राख्न भन्छन्। तर सन्नी कोथे मःमसँग यही अचार खानुपर्छ भनेर बुझाउँछन्। कहिलेकाहीँ त हम्मे पर्छ।
तातो चाउचाउ वा थुक्पा वा सुप खाने हाम्रो समाजमा चिसो कोल्ड नुडल्स चिनाउन पनि सन्नीलाई सहज थिएन।
त्यसमाथि कोभिड महामारीका बेला अरू व्यवसायसँगै रेस्टुरेन्टहरू घाटामा थिए। सन्नीलाई पनि चिनजानका धेरै जनाले यस्तो समयमा किन रेस्टुरेन्ट खोलेको भने। परिवारले जागिर गर्न जोड दिइरह्यो।।
सन्नीले भने कसैको सुनेनन् र आफ्नो सपना पछ्याइरहे।
उनी भन्छन्, 'अहिले सबै जना खुसी हुनुहुन्छ।'











