चोरी शिकारीका गर्न गएका पाँच जनामध्ये एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर २ का ३३ वर्षीय टोपबहादुर खत्रीको मृत्यु भएको हो। उनको शव बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ झाँक्री खोलास्थित बर्दिया राष्ट्रिय निकुञ्जमा सोमबार फेला परेको हो। भिनाजु आसे महराले शवको सनाखत गरेका हुन्। यसअघि नै टोपबहादुर मृत्यु भएको खबर प्रहरीलाई दिइएको थियो।
सुर्खेत र बर्दिया प्रहरीका साथै राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेनासहित दर्जनौं सुरक्षाकर्मीले लगातार खोजी गर्ने क्रममा सोमबार बेलुकी मात्रै टोपबहादुरको शव फेला परेको हो।
चैत ३ गते पौने ७ बजेतिर बर्दियाका प्रहरी निरीक्षक भूपेन्द्र शाही नेतृत्वको टोलीले प्रहरी चौकी रानीघाटबाट झन्डै १४ किलोमिटर दक्षिणको बराहताल गाउँपालिका–१ सुगरखाल जंगलस्थित ओडारमा लुकाइछिपाइ कालो प्लाष्टिकले बेरेर राखेको एउटा भरुवा बन्दुक त्यसमा प्रयोग हुने छर्रा ५ वटा फेला पारेको थियो।
सुर्खेतका चारसहित पाँच जना फागुन २३ गते घर बाट बर्दिया राष्ट्रिय निकुञ्जभित्र चोरी शिकारी गर्न भनेर गएका थिए। जिल्लाको बराहताल गाउँपालिका वडा नम्बर १ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकबेसी नगरपालिका वडा नम्बर ८ गंगटे घर भइ हाल बर्दिया जिल्लामा बस्दै आएका ४५ वर्षीय दुगर्गाबहादुर सिजाली घर बाट निस्किएका थिए। यी पाँच जना हालसम्म घर फर्किएका छैनन्।
उनीहरू सबैको अवस्था हालसम्म अज्ञात छ।