बिहे गरेर चितवनको माडी आइपुगेकी मनिषा विकका कैयौं रात डरमा बितेका थिए।
बुटवल हुँदा उनले बाघको बारेमा सुनेकी मात्रै थिइन्। बिहे गरेर माडी–१ कल्याणपुर आइपुगेपछि थाहा पाइन् — आफ्नै ससुराको बाघको आक्रमणबाट मृत्यु भएको थियो।
करिब एक दशकअघि ससुरा भिमबहादुर विकलाई घर पछाडिको मकैबारीमा बाघले आक्रमण गरेको थियो। स्थानीयबासीका अनुसार चितवन राष्ट्रिय निकुञ्जको पाँचपाण्डव मध्यवर्ती सामुदायिक वनसँग जोडिएको मकैबारीमा काम गर्ने क्रममा भिमबहादुरको बाघसँग जम्काभेट भएको रहेछ।
अताल्लिएको बाघ भिमबहादुरमाथि जाइलाग्यो। जंगलको शेरको अगाडि उनी निरिह बने।
जब यो कुरा सुनिन्, मनिषालाई मकैबारीतिर हेर्न पनि डर लाग्न थाल्यो।
'साँझ परेपछि डर झनै बढ्थ्यो। घरका कोही मकैबारीतिर गए भने नफर्किएसम्म मुटु ढुकढुक भइराख्थ्यो,' मनिषाले भनिन्, 'कस्तो ठाउँमा परिएछ जस्तो लाग्थ्यो।'
केही दिनअघिको भेटमा मनिषामा धेरै परिवर्तन आइसकेको रहेछ। ससुरालाई खाने बाघलाई गाली गर्ने उनी अचेल स्थानीयबासीलाई संरक्षणबारे सिकाउँदी रहिछन्। बाघसँगको डर शक्तिमा परिणत हुन थालेको उनले बताइन्।
वन्यजन्तुको गैरकानुनी व्यापारको जालो चिर्ने उद्देश्यले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले सञ्चालन गरेको युवा सशक्तीकरण परियोजनामा सहभागी भएको दुई वर्षमा मनिषाले गरेको प्रगति हो यो।
'यो कार्यक्रमले मलाई बाघले मान्छेको ठाउँ होइन, मान्छेले बाघको ठाउँ अतिक्रमण गरेको रहेछ भन्ने ज्ञान दियो। मान्छेको अतिक्रमण बढ्दै गर्दा बाघ बाध्य भएर मानवबस्ती पस्ने रहेछ,' उनले भनिन्, 'मान्छे बाघको आहारा होइन। वनको संरक्षण गरियो भने बाघ बस्तीतिर पस्दैन। मानव र वन्यजन्तुको बीचमा सहअस्तित्व कायम राख्न सबभन्दा बढी जिम्मेवार मान्छे नै हुन्छ भन्ने बुझेपछि बाघसँगको आक्रोश हटिहाल्यो।'
डब्लुडब्लुएफको कार्यक्रममार्फत ३० वर्षीया मनिषाले कफी बनाउने सीप सिकेकी छन्। अब उनी यो सीप प्रयोग गरेर व्यावसायिक बन्ने सोचमा छिन्।
'केही दिनअघि मात्रै पनि गाउँ पसेको बाघले केही बाख्रा, भैंसी मारिदियो। यसबाट स्थानीयबासी आक्रोशित थिए। हामी बुझेका युवाहरूले सबैलाई बुझाउने काम गर्यौं। अन्य समयमा पनि बेला–बेलामा जनचेतनामूलक गतिविधि गरेर वन, वन्यजन्तु संरक्षणबारे जानकारी गराउने गरेका छौं,' उनले भनिन्, 'साथमा रोजगारी पनि भयो भने यी काम गर्न सहज हुने रहेछ। त्यसैले युवाहरूले सीप सिकेका छौं। अब रोजगार वा स्वराजगार बन्ने वातावरण पनि बनेको छ।'
सोही ठाउँकी २९ वर्षीया पुनम परियार र मनकामना बोटेले पनि यही कार्यक्रममार्फत कफी बनाउने तालिम लिएका छन्। २४ वर्षीय सौगात महतोले कुकको तालिम पाएका छन्। उनीहरू पनि अहिले मनिषा जस्तै संरक्षण सम्बन्धी सचेतना अभियानमा सक्रिय छन्।
'हाम्रो ठाउँमा बाघ, गैंडा, जंगली हात्ती बेला बेलामा पसिराख्छन्। उनीहरूले अन्नबाली, पशुचौपायामा क्षति पुर्याउने त सामान्य कुरा हो। सजग नबने घर भत्काइदिने, मान्छेकै ज्यान जानेसम्मका जोखिम हुन्छन्,' पुनम भन्छिन्, 'जंगली जनावरलाई मान्छेको ठाउँमा आउन नदिन मान्छे उनीहरूको ठाउँमा जाने अवस्था हटाउनुपर्छ। त्यसका लागि मान्छेलाई जंगल जान नपर्ने गरी विकल्प दिनुपर्छ।'
कक्षा–१२ पढेकी उनले स्थानीयबासीलाई जंगल जानुभन्दा वैकल्पिक उपायहरूको खोजी गर्न सघाउने गरेको बताइन्।
'म त अचेल जंगल जाँदिनँ। अरूलाई पनि नजान सुझाव दिने गरेकी छु,' उनले भनिन्, 'अहिले युवाहरू धेरै जसोले पढेका छन्। सीप सिकेर स्वरोजगार बन्न सकिन्छ। जंगल देखाएर पर्यटन व्यवसाय पनि गर्न सकिन्छ।'
तालिम क्रममा वन्यजन्तुको आनीबानीबारे राम्ररी बुझेका सौगात अब त्यही आनीबानी वन्यजन्तुबारे समाजलाई बुझाउँदै पर्यटन व्यवसाय सञ्चालन गर्ने सोचमा छन्।
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) र तराई भूपरिधि कार्यक्रम (ताल) को आर्थिक तथा प्राविधिक सहयोगमा तालिम पाएपछि चितवन र पर्सा निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका २५ जना युवाहरू नेचर गाइड बनेका छन्।

यो युवा सशक्तीकरण परियोजनाबाट ७५ जनाले बारिस्ता, कुक, बेकरी, ब्युटिपार्लर, मेकानिक्स तालिम (सिटिइभिटी अन्तर्गतको आवासीय) पाएको पूर्वी नेपालको बागमती नदीदेखि पश्चिममा महाकाली नदीसम्मको क्षेत्रमा काम गर्दै आएको तराई भूपरिधि कार्यक्रमका पूर्वी क्षेत्रका प्रमुख प्रेम पौडेल बताए।
त्यसबाहेक उनीहरूलाई संरक्षण शिक्षा प्रदान गरिएको थियो।
यसमा चितवन, पर्सा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले समन्वय गरेका थिए। पर्सा निकुञ्जको मनहरी र चितवन निकुञ्ज अन्तर्गतको मृगकुञ्ज, लामिचौर, मेघौली, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका एक सय जना युवाहरूलाई स्वरोजगार तालिम दिइएको थियो।
विश्व वन्यजन्तु कोष नेपालका वन्यजन्तु ओसारपसार अनुगमन प्रमुख माधव खड्का वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण समुदायको सहभागितामा मात्रै सम्भव हुने बताउँछन्।
यसका लागि समुदायका जागरूक युवाहरूलाई प्रोत्साहन गरिएको उनले बताए।
खड्काका अनुसार नेपालमा अवैध रूपमा हुने वन्यजन्तुको व्यापार बागमती प्रदेशमा सबभन्दा बढी छ। बागमतीमा संरक्षित वन्यजन्तु बाघको चोरी–सिकारी भएको भने भेटिएको छैन।
'चोरी–सिकारी शून्य हुँदै जाँदा चितवन र आसपासका क्षेत्र वन्यजन्तु ओसारपसारको हब बन्दै गएको पाइन्छ। यसलाई नियन्त्रणमा लिन समुदायको सहयोग आवश्यक पर्छ,' खड्काले भने, 'हाम्रो लक्ष्य भनेको अवैधानिक व्यापारको चेन ब्रेक गर्नु हो। मध्यवर्ती क्षेत्र आसपासका युवाहरूलाई स्वरोजगार बनाउँदै संरक्षणमा प्रेरित गर्नसक्दा अवैध व्यापार नियन्त्रण हुनसक्छ भनेर यो कार्यक्रम सञ्चालन गरेका हौं।'
विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख घनश्याम गुरूङका अनुसार विश्वमा अहिले भइरहेको अवैध व्यापारमध्ये वन्यजन्तुको ओसारपसार तथा व्यापार युद्ध सामग्री, लागुऔषध र मानव तस्करीपछिको चौथो नम्बरमा छ। संरक्षणमा युवाहरूको सहभागितालाई प्रोत्साहन गर्न सके अवैध व्यापार घटाउन सकिने बुझाइ उनको छ।
'प्रकृति जोगाउन सके मात्रै पृथ्वी रहन्छ भन्ने कुरा युवाहरूले बुझ्नुपर्छ। पर्यटन विकास र आर्थिक वृद्धिका लागि पनि प्रकृतिको संरक्षण गर्नैपर्छ,' गुरूङ भन्छन्, 'कुनै निकाय मात्रै लागेर यो काम गर्न सकिँदैन। सरकारी निकाय मात्रैले त सक्दै सक्दैन। समुदायको भूमिका धेरै ठूलो हुन्छ। युवाहरूलाई केन्द्रमा संरक्षणलाई राखेर काम गर्न प्रेरित गर्ने उद्देश्यले सीपसँग जोडिएको हो।'
यो तालिम दिएर अति आवश्यक पर्ने सामग्री प्रदान गर्नमा एक करोड १२ लाख रूपैयाँ खर्च भएको छ। परियोजना सञ्चालनकै क्रममा केहीले रोजगारी पाइसकेका छन्।
बाँकीलाई पनि रोजगारी दिलाउन सहयोग गर्ने कोषका अधिकारीहरूले बताए।