प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथग्रहण तयारी अघि बढेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कसलाई सभामुख बनाउला भन्ने चासो बढेको छ।
नयाँ सभामुखका लागि रास्वपाभित्र अहिले पाँच जनाको नाम चर्चामा रहेको एक नेताले जानकारी दिए।
संविधानले संसद बैठक सञ्चालन, बैठकको कार्यसूची निर्धारण, विधेयक प्रमाणीकरण, निर्णयाधिकार, सचिवालय सञ्चालन लगायत सभामुखको अधिकार निर्धारण गरेको छ। सभामुख निर्वाचित भएपछि दलीय आबद्धताबाट अलग रहनुपर्ने भएकाले पार्टीको महत्त्वपूर्ण जिम्मेवारीबाट बाहिर रहेकाहरूको खोजी भइरहेको ती नेताले बताए।
उनका अनुसार छलफलको सुरूमा उपसभापति डिपी अर्याल (डोलप्रसाद) को नाम सभामुखमा चर्चामा थियो। पार्टीभित्र सन्तुलित नेतृत्वको छवि बनाएका र नेतृत्वको विश्वासपात्र भएकाले उनी उपयुक्त पात्र हुन सक्ने कतिपय नेताको बुझाइ थियो।
तर दलीय आबद्धताबाट बाहिर बस्नुपर्ने भएकाले पार्टीका कतिपय निर्णयमा उनको अभाव खट्किनसक्ने ठानेर अहिले अन्य नामहरूमा छलफल भइरहेको नेताहरूले बताएका छन्।
अर्याल यसअघि समानुपातिकबाट सांसद निर्वाचित भई दुई पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएका थिए। अहिले उनी काठमाडौं–९ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनलाई गृह मन्त्री बनाउने चर्चा पनि पार्टीभित्र चलिरहेको छ।
सभामुखको भूमिकाका लागि पार्टी सचिवालय सदस्य दीपक बोहराको नाम पनि चर्चामा छ। सचिवालय सदस्य भए पनि अहिले पार्टीमा उनको परिभाषित भूमिका छैन। केही समय अघिसम्म उनी सहकोषाध्यक्ष थिए। बीचमा एक जना मात्र कोषाध्यक्ष राख्ने व्यवस्था भएपछि उनको भूमिका सचिवालय सदस्यमा सीमित बनेको हो।
नेतृत्व नजिक रहेर कार्यसम्पादन गरेको र विश्वास समेत आर्जन गरेकाले उनको नाम चर्चामा रहेको एक पदाधिकारीले बताए। उनी कञ्चनपुर–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
त्यस्तै, सभामुखको भूमिकाका लागि सोबिता गौतमले आकांक्षा राखेकी छन्। पूर्वउपसभामुख इन्दिरा रानामगरले पनि दाबी गरेकी छन्। तर उनीहरू दुवै जना सभामुखभन्दा सम्भावित मन्त्रीको सूचीमा छन्। गौतमको चर्चा कानुनमन्त्रीका रूपमा भइरहेको छ। रानामगर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने सम्भावनाको सूचीमा छिन्।
पार्टी नेतृत्वले सभामुखका लागि युवा अनुहारको खोजी गरिरहेको नेताहरूले बताएका छन्। त्यसै क्रममा पछिल्लो समय सहप्रवक्ता प्रतिभा रावलको चर्चा पनि बाक्लिन थालेको छ। समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित रावल पार्टी सभापति रवि लामिछानेको सचिवालयमा समेत छिन्। लामिछाने गृहमन्त्री बनेकै बेलादेखि उनी सचिवालयमा थिइन्।
कञ्चनपुर, महेन्द्रनगरकी स्थायी बासिन्दा रावल पत्रकारिता पृष्ठभूमिकी हुन्। नागरिक दैनिकको अंग्रेजी संस्करण रिपब्लिका हुँदै उनी पछिल्लो समय ग्यालेक्सी फोरके टेलिभिजनमा संलग्न थिइन्। रास्वपा गठनको सुरूआतदेखि नै उनी पार्टीमा आबद्ध थिइन्।
सञ्चारकर्म हुँदै सञ्चार मन्त्रीसम्मको यात्रा गरेका जगदीश खरेलको नाम पनि सभामुखको सम्भावित अनुहारका रूपमा चर्चामा छ। उनको नाम रास्वपा वृत्तमा त्यति चर्चामा नभए पनि वरिष्ठ नेता बालेन शाहको समूहबाट भने छलफलमा ल्याउन थालिएको नेताहरूले बताएका छन्।
सम्भावित सभामुखको सूचीमा पाँच–छ जनाको नाम चर्चामा रहे पनि प्रतिभा रावलकै सम्भावना बलियो बन्दै गएको रास्वपाका एक नेताले बताए।
'सभामुखको भूमिकाका लागि युवा अनुहारको खोजी भइरहेको छ। अहिले चार–पाँच जनाको नाम अगाडि आएको छ। सहप्रवक्ता प्रतिभा रावलको नाम पनि चर्चामा छ। तर सभापतिकै सचिवालयमा रहेर काम गरेकाले सार्वजनिक वृत्तमा टीकाटीप्पणी हुने हो कि भन्ने पनि छ। सम्भवतः उहाँकै नाममा सहमति जुट्न सक्छ,' रास्वपाका एक पदाधिकारीले भने।
प्रतिनिधिसभाको पहिलो बैठक आगामी वैशाख ४ भित्र बसिसक्नुपर्ने छ। निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष चुनावी प्रतिवेदन पेस गरेको एक महिनाभित्र संसदको पहिलो बैठक आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ। आयोगले चैत ५ गते उक्त प्रतिवेदन बुझाएको थियो।
संविधानको धारा ९१ अनुसार संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख, उपसभामुख चयन गरिसक्नुपर्ने छ। त्यसैले आगामी वैशाख १९ भित्र नयाँ सभामुख र उपसभामुख निर्वाचित भइसक्ने छन्।
संसद सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथ आगामी बिहीबारलाई तय गरेको छ।
यसबीच रास्वपाले चैत १२ गते केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने केन्द्रीय समिति बैठकले वरिष्ठ नेता बालेन शाहलाई दलको नेता चयन गर्न विधानमा भएको बाधाअड्काउ (धारा ८०) फुकाउने छ। रास्वपाको मौजुदा विधानमा बाधाअड्काउ फुकाउने अधिकार केन्द्रीय समितिमा छ।
विधानले बाधाअड्काउ फुकाएपछि दलको बैठक बसेर रास्वपाले बालेन शाहलाई नेता चयन गर्ने छ। रास्वपाको मौजुदा विधानको धारा ६६ (८) को 'क' र 'ख' मा संघीय संसदको दल नेता चयनसम्बन्धी व्यवस्था छ।
संघीय निर्वाचनअगावै पार्टीबाट समानुपातिक र प्रत्यक्षतर्फ छनौट भएका उम्मेदवारमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधिसभा संसदीय दलको नेता छनौटका लागि निर्वाचन हुने र निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने व्यवस्था विधानमा छ।
यसलाई परिमार्जन गरेर वरिष्ठ नेतालाई दल नेता बनाउन बाटो खोल्ने कार्यसूची रहेको रास्वपा नेताहरूले बताएका छन्। चैत १३ गते नै नेता शाहले प्रधानमन्त्रीको शपथ लिनेछन्। त्यसपछि संसदको पहिलो बैठक आह्वानको तयारी अघि बढ्नेछ।