ओखलढुंगाको एक मतदान केन्द्रमा मतदाताहरू भोट हाल्न नजाने भएका छन्।
मानेभञ्ज्याङ गाउँपालिका-७ स्थित टोक्सेल भन्ने मतदान केन्द्रमा बिहीबार बिहान साढे १० बजेसम्म कोही पनि मतदान गर्न नआएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए।
उनका अनुसार स्थानीयहरूले विरोध स्वरूप मतदान नगर्ने बताएका हुन्।
मानेभञ्ज्याङका अध्यक्ष ज्ञानेन्द्र रूम्दानीका अनुसार उक्त मतदान केन्द्रमा ७०१ जना मतदाता छन्।
प्रदेश सरकारले यस क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने भनेको थियो। तर प्रादेशिक अस्पताल बनाउने काम सुरू नगरेको विरोधमा मतदाताहरूले विरोध गरेको अध्यक्ष रूम्दानीले बताए।
‘प्रदेश सरकारले १६५ रोपनी जग्गा माग गर्यो। स्थानीयले उक्त सामूहिक रूपमा उपलब्ध गराए। तर सरकारले वार्षिक रूपमा २०-२५ लाख बजेट पठायो। मैदानहरू सम्याउने सम्मका काम भए,’ उनले भने, ‘तर पछिल्लो समय सरकारले सम्बोधन गरेन। त्यसो हुँदा नागरिकले मतदान बहिष्कार गरेका हुन्।’
उनका अनुसार मतदातालाई स्थानीय राजनीतिक दल तथा जनप्रतिनिधिले छलफल समेत गरेका थिए।
‘हामीले पटकपटक छलफल गर्यौं। मतदान गर्नबाट बञ्जित नगर्नुस् भन्यौं। तर सरकारलाई दबाब दिनलाई उहाँहरूले मतदान नगर्ने भन्नुभयो। हामीले दुई दिन छलफल गर्यौं, तर सहमति हुन सकेन,’ उनले भने।
प्रतिनिधिसभा निर्वाचनमा बिहान ७ बजेदेखि मतदान सुरू भएको छ। साँझ ५ बजेसम्मका लागि मतदान गर्ने समय छ।