सहिदको कथा
भदौ २४ गते दिउँसो साढे १२ बजेको थियो।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८, हात्तीकिल्लाकी ३० वर्षीया जान्ती राजवंशीलाई छिमेकीको फोन आयो।
फोन उठाउनासाथ छिमेकीले आत्तिँदै भने, 'दिदी, दाइलाई गोली लागेर बिएन्डसी अस्पताल लगिएको छ रे! हजुर तत्काल जानुहोस्!'
त्यति सुनेपछि हतारिँदै जान्ती अस्पताल पुगिन्।
अस्पताल गोली लागेर ल्याइएका घाइतेहरूले भरिभराउ थियो। जान्तीलाई श्रीमान दिनेशलाई भेट्न समय लाग्यो।
'आधा घन्टा खोजेपछि बल्ल श्रीमानलाई भेटेँ,' उनले भनिन्, 'डाक्टरहरूले गोली निकालिसकेको भने तर उहाँको होस आएको थिएन।'
दिनेशको तीन दिनसम्म सोही अस्पतालमा उपचार भयो। तर होसमा नआई उनको मृत्यु भएको जान्तीले बताइन्।
जान्तीका अनुसार ३२ वर्षीय दिनेश भदौ २३ गते आन्दोलनमा गएका थिए। त्यस दिन सकुशल फर्किएका उनी रातभर निदाउन सकेनन्।
दिनभर युवाहरू मारिएका तस्बिर र भिडिओहरूले उनी विचलित बनेको जान्ती सम्झिन्छिन्।
'देश बनाउन निस्किएका युवालाई गोली हानेर मारियो, राम्रो देश बनाउनुपर्छ भनेर आवाज उठाउँदा युवाहरू मारिए,' जान्तीले दिनेशका भनाइ उद्धृत गरिन्।
यस्तै कुराहरू गर्दै दिनेश भदौ २३ गते राति राम्रोसँग निदाउन सकेका थिएनन्।
अर्को दिन बिहान चिया–खाजा खाएर ८ बजेतिर घरबाट निस्किएका थिए।
घरनजिकै उनीहरूको मासु पसल थियो। त्यस दिन पसल खोल्न मिल्छ कि मिल्दैन, यसो बुझेर आउँछु भनेर दिनेश गएका थिए।
'बिहान पसल जान्छु भनेर निस्किनुभएको थियो, दिउँसो साढे १२ बजेतिर त गोली लाग्यो भन्ने खबर आयो,' जान्तीले भनिन्।
गोली लागेको खबर पाउनासाथ जान्तीको परिवार अस्पताल पुगेको थियो। उपचार क्रममा २७ गते बिहान दिनेशको निधन भयो।
'उहाँको मृत्युपछि के के भयो, थाहा नै छैन,' जान्तीले भनिन्, 'हाम्रो त जिन्दगी सुरू नहुँदै अन्त्य भयो।'
दिनेश र जान्तीको ७ वर्षअघि बिहे भएको थियो।
वैदेशिक रोजगारीका क्रममा कतार पुगेका दिनेश स्वदेशमै केही व्यवसाय गर्ने रहर बोकेर फर्किएका थिए।
जान्तीसँग बिहेपछि उनीहरूले घर नजिकै मासु पसल सुरू गरेका थिए। तर सोचेजस्तो गर्न नसकेको भन्दै दिनेश पुनः विदेश जाने तयारीमा थिए।
'सन्तान भएपछि यो पसलको कमाइले मात्र गुजारा चलाउन सकिएन। त्यसैले फेरि वैदेशिक रोजगारीका लागि रोमानिया जाने तयारी थियो,' जान्तीले भनिन्।
दिनेश र जान्तीका ६ वर्षका छोरा र १८ महिनाकी छोरी छन्।
'विदेश जान नपाई सधैंका लागि छाडेर जानुभयो,' जान्तीले भनिन्, 'हामी ३ जनाको भविष्य नै अँध्यारो बनाएर जानुभयो।'
उनका छोराछोरी अहिले पनि बुबा आउने बाटो कुरिरहेका छन्। सानै भएकाले उनीहरूलाई वास्तविक कुरा भन्न नसकेको उनले बताइन्।
दिनेशकी ५५ वर्षीया आमा सपना राजवंशीको पनि आँखा अहिलेसम्म ओभाना छैनन्। तीन वर्षअघि श्रीमान गुमाएकी उनले कान्छो छोरा पनि गुमाउनुपर्यो।
'पहिला श्रीमान र अब छोरा गुमाएपछि आमाले आफूलाई सम्हाल्नै सक्नुभएको छैन,' उनले भनिन्, 'हाम्रो त बाँच्ने सहारा नै गुम्यो।'
जान्ती अहिले दाजु–भाउजू (जेठाजु–जेठानी) सहित संयुक्त परिवारमा बसिरहेकी छन्। उनका दुई सन्तानलाई कक्षा–१२ सम्म गाउँकै स्कुलमा पढाइदिने प्रावधान गाउँपालिकाले मिलाइदिएको छ।
'उनीहरूलाई पढाएर मात्र हुँदैन। पालनपोषण गर्ने र आमा (सासू) को हेरचाह गर्ने जिम्मेवारी श्रीमानकै थियो,' जान्तीले भनिन्, 'उहाँको जिम्मेवारी सरकारले लिइदिओस्।'
सरकारले दिनेशलाई सहिद घोषणा गरेको छ। १५ लाख रूपैयाँ क्षतिपूर्ति पनि दिएको छ। तर त्यतिले मात्र नहुने उनले बताइन्।
'सहिद परिवारलाई निःशुल्क स्वास्थ्य सेवा, भत्ता र रोजगारीको व्यवस्था गरिदिनुपर्छ। छोराछोरीको थप पढाइको जिम्मासमेत लिनुपर्छ,' उनले भनिन्।
***
सहिद परिवारका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्