फिल्म 'आबाट आमा २' को मुख्य कलाकारमा अभिनेत्री विपना थापा र अभिनेता पल शाह अनुबन्धित भएका छन्।
सोमबार निर्देशक चन्द्र पन्तले दुवै कलाकारलाई फिल्ममा अनुबन्ध गरेको जानकारी दिएका हुन्।
हालै प्रदर्शनको ५१ दिन मनाएको फिल्म 'आबाट आमा' मा विपना थापा आमाको भूमिमामा छिन् भने पलले छोराको भूमिका निर्वाह गरेका छन्। सोही कथालाई निरन्तरता दिँदै केही नयाँपनसहित ‘आबाट आमा २’ निर्माण गर्न लागिएको निर्माण पक्षले जनाएको छ।
'आबाट आमा' मा रहेका अभिनेत्रीहरू उषा उप्रेती र सिम्रन पन्तलाई निरन्तरता दिने वा नदिने विषयमा भने निर्माण पक्षले हालसम्म केही खुलाएको छैन।
निर्देशक पन्तले कलाकारबारे क्रमशः जानकारी दिँदै जाने बताए। उनका अनुसार फिल्मको छायांकन आगामी नयाँ वर्ष अर्थात बैशाखबाट सुरू हुनेछ। साथै, फिल्मलाई आउँदो वर्षकै दशैंमा प्रदर्शन गर्ने तय गरिएको छ।
निर्देशक चन्द्र पन्तले भने, 'अहिलेसम्म दुई जना कलाकारलाई अनुबन्ध गरेका छौं। अन्य जानकारी क्रमशः सार्वजनिक गर्दै जानेछौं।'
फिल्म 'आबाट आमा' ले नेपालमा १३ करोड १० लाख रूपैयाँभन्दा माथिको व्यापार गरेको छ। फिल्ममा प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायत कलाकारहरूको समेत अभिनय छ।